स्थानीय निर्वाचनः चर्चामा भरतपुर, गठबन्धनद्वारा घाेषणापत्र सार्वजनिक

देशका ७ सय ५३ वटा पालिकामा एक साथ स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर सर्वाधिक चर्चा भने चितवनको भरतपुर महानगरपालिकाकाे भइरहेकाे छ ।

भरतपुर चर्चामा रहनुकाे कारण भनेकाे नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल(प्रचण्ड)काे गृहनगरका साथै प्रचण्डकै छाेरी रेनु दाहाल पुनः मेयर पदमा प्रतिस्पर्धामा रहेकाले गर्दा हाे ।

भरतपुरमा सत्ता गठबन्धनले रेनु दाहाललाई मेयरकाे उम्मेदवार बनाएकाे छ भने उपमेयरमा नेपाली कांग्रेसका नगर सभापति चित्रसेन अधिकारी उम्मेदवार बन्नुभएकाे छ ।

गठबन्धनले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सत्ता गठबन्धनले ‘भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प, एसियाकै नमुना महानगर हाम्रो साझा संकल्प’ भन्ने नारा दिइएको घोषणापत्र सार्वजनिक गरेको हो ।

गठबन्धनले महिलासँग सुरक्षा र सम्मानको प्रत्याभूति दिलाउने र उद्यमशीलताको ग्यारेन्टी, भूमिहीनसँग हाम्रो संकल्प भनेर हरेकको आफ्नै घर हुने र सबैको साझा शहर हुने उल्लेख गरेको छ ।

किसानलाई पेन्सन र बीउदेखि ढुवानीसम्म अनुदान दिने, विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेटको व्यवस्था, युवाहरुलाई रोजगारी र स्वउद्यमको प्रत्याभूति गराउने कुरा घाेषणापत्रमा समावेश छ ।

गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भरतपुर महानगरपालिकामा पाँच वर्षमा भएका कामहरुकाे सूची छ भने अहिलेका शुरूवात भएका विकासलाई निरन्तरता दिन सत्ता गठबन्धनलाई मत दिनुपर्ने जिकिर गरिएको छ ।

माओवादी केन्द्रले रेनु दाहालकाे नेतृत्वमा यसअघिका अधुरा याेजना पुरा गर्ने भन्दै पुनः विजयी बनाउन आग्रह गर्दै आएकाे छ ।

Facebook Comments