जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस । २०६३ साल जेठ २१ मा नेपाल सरकारले ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गते याे दिवस मनाउन थालिएकाे हाे ।
यसैवीच ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले सन्देश शुभकामना व्यक्त गर्नुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएकाे सन्देशमा जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क भएको उल्लेख छ ।
उहाँले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको समेत सन्देशमा उल्लेख गर्नुभएकाे छ ।
संविधानमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था गरेपनि अझै पनि अन्त्य हुन नसकेको राष्ट्रपतिको भनाई छ।
सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन आजको दिवसले सबैलाई अभिप्रेरित गराेस् भन्ने राष्ट्रपति भण्डारीको कामना छ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एक सन्देश जारी गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलनका लागि सरकार प्रतिवद्ध रहेकाे बताउनुभएकाे छ ।
उहाँले सन्देशमा जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराध हुने बताउनुभएकाे छ ।
न्याय समानता सहितको मर्यादित जीवन सबैका लागि समान हुनुपर्ने भन्दै लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभएकाे छ ।

