विश्व वातावरण दिवस मनाइँदै
आज जुन ५ अर्थात विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ ।
यस वर्ष विश्व वातावरण दिवसकाे नारा ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय रहेकाे छ भने ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ मनाउन लागिएकाे हाे ।

नेपालमा भने ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी
आज विश्व वातावरण दिवस मनाइँदैछ ।
दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय क्रियाकलापले प्रकृतिमा वातावरणकाे सन्तुलन विग्रेकाले अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएकाे छ ।
राष्ट्रपति भण्डारीले जारी गर्नुभएकाे सन्देशमा शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा वातावरणमैत्री यातायातको प्रयाेग गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
प्रधानमन्त्री देउवाले वातावरणको संरक्षण नहुँदा जलवायु परिवर्तन भई विभिन्न प्रकोहरूको सामना गर्नु पर्ने र यसले नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सीमान्तकृत समुदाय बढीमात्रामा प्रभावित हुनुपरेकाे बताउनुभएकाे छ ।
प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको तर्फबाट गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वयमा अगाडी बढ्ने प्रतिवद्धता पनि गर्नुभएकाे छ ।

