नेइएको निर्वाचनको तयारी पुरा
नेपाल इन्जिनियर्स एशोसियसनको यही फागुन २७ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । नेईएको सबै प्रदेशमा एकैसाथ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । गत बर्ष नै हुनुपर्ने निर्वाचन कोभिड १९ को महामारीका कारण एक बर्षभन्दा बढी ढिला गरी हुन लागेको हो । निर्वाचनले ३३ औं कार्यकारिणी समिति चयन गर्नेछ ।
एशोशियसनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका राजनीतिक दलहरु निकट इन्जिनियरहरुको संगठनले एलाइन्स गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले निकट रहेका इन्जिनियर संगठनका तर्फबाट छुट्टै प्यानल निर्वाचनमा होमिएको छ ।
कांग्रेस निकट लोकतान्त्रिक संगठनका तर्फबाट ई. दिलिप कुमार झाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सो समूहबाट उपाध्यक्ष्मा ई. ऋषि कोईराला, महासचिवमा ई.कृष्ण सिंह बस्नेत, उपमहासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा रमिता श्रेष्ठ तथा सह कोषाध्यक्षमा ई. सञ्जयकुमार महतो उम्मेदवार बन्नुभएको छ ।
एमाले निकट इन्जिनियरहरूको संगठनले ई. डा.सुरज लामिछानेलाई अध्यक्षको उम्मेदवार बनाएको छ । त्यस्तै साे समूहबाट उपाध्यक्षामा ई. देउकाजी गुरूङ, महासचिवमा ई. डा. भेषा राज थापा, उपमहासचिवमा ई. शिवराम केसी, काेषाध्यक्षमा ई. डा. अानन्द सिंह तथा सहकाेषाध्क्षमा ई. अर्जुन पाैडेल उम्मेदवार बन्नुभएकाे छ ।
त्यस्तै एकीकृत प्रगतिशील समूह पनि विभिन्न एजेण्डाका साथ निर्वाचनमा होमिएको छ । सो समूहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी निकट रहेका तथा स्वतन्त्र इन्जिनियरहरूको समर्थन छ ।
एकीकृत प्रगतिशील समूहले अध्यक्षमा ई.डा.हरिराम पराजुलीलाई अगाडि सारेको छ । सो समूहको उपाध्यक्षमा आ. न्हसला तुलाधर, महासचिवमा ई.डा.शंकर ढकाल, उप महासचिवमा ईं डा.समित थापा, कोषाध्यक्षमा ई.श्याम नारायण चौधरी तथा सह कोषाध्यक्षमा ईं.स्मिता भट्टको उम्मेदवारी रहेको छ ।

उक्त समूहले एशोशियसनको विधान संशोधन गरी संस्थाको उम्मेदवार सम्बन्धमा उमेर हद खारेज गरी सबै सदस्यलाई एशोसियनको नेतृत्वमा सहभागी हुन पाउने अवस्था सिर्जना गर्ने, निर्वाचनमा अनलाइन भोटिङ्गकोे ब्यवस्था गर्ने लगायतका चुनावी एजेण्डा अगाडि सारेको छ ।
त्यस्तै नेपाल इनिजनियरिङ्ग एशोशियसनको विशुद्ध पेशागत, निष्पक्ष पारदर्शी, समावेशी र समाजवादी सोंचका साथ अगाडि बढाउने, मुलुकको विकास निर्माणका क्षेत्रमा इन्जिनियरहरुको नेतृत्वदायी भूमिका स्थापित गर्ने, इन्जिनियरहरुको योग्यता अनुसार तहगत समानता तथा न्यूनत्तम पारिश्रमिक कायम गर्ने लगायतका एजेण्डा समेत रहेका छन् ।
स्थानीय तहहरुमा इन्जिनियर तथा प्राविधिकहरुको दरबन्दी कायम गर्नुपर्ने, इन्जिनियरहरुको पेशागत मर्यादा तथा सेवामा सुरक्षामा समेत सो समूहको जोड छ ।
त्यस्तै नेपाल इन्जिनियरिङ्ग परिषद मार्फत् सबै विश्वविद्यालयहरुमा स्नातक तहमा अध्ययनका लागि एकल प्रवेश परीक्षा लिई इन्जिनियरिङ्ग शिक्षामा गुणस्तर अभिबृद्धि तथा समानता कायम गर्ने, इन्जिनियरको काम गर्न लाइसेन्सको जाँच गराउन तथा विशेषज्ञ इन्जिनियरहरुको विशिष्टता कायम गर्न, जागिर नपाउँदा सम्मका लागि इन्टर्नसीपको व्यवस्था लगायतका एजेण्डा समेत सो समूहले अगाडि सारेको छ ।

