जनमतको कदर गर्दै सेवामा खटिरहन्छु – बराल
कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उहाँले जनपक्षिय काम गर्ने बताउनुभयो ।
शुक्रबार पोखरा २९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा उहाँले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिदै भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
‘आज मात्रै होइन, भोलि पनि भेटिनुपर्छ उहाँले भन्नुभयो – झुटो नबोलि जनताले प्राथमिकताका आधारमा तय गरेका योजना नै मेरा योजना हुन्।’
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले गठबन्धनको संघ र प्रदेश बन्दा सरकार काम गर्न सजिलो हुने भन्दै गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
गठबन्धन राम्रो र प्रभावकारी हुँदा हाम्रो वातावरण निर्माण भएको र चुनाव जित्ने वातावरण बनेको उहाँको भनाइ छ । उम्मेदवार बरालले सीपमूलक शिक्षा र उद्यमशीलतालाई विशेष जोड दिदै आउनु भएको छ । उहाँले शनिवार पोखरा १२ मा मतदाता भेटघाट र घरदैलो गर्नु हुनेछ ।

