सांस्कृतिक पर्व गाईजात्रा सुरू

काठमाण्डाै उपत्यकामा विशेष रूपमा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सुरू भएको छ। काठमाण्डाै लगायत देशका विभिन्न स्थानमा खास गरी नेवार समुदायले गाईजात्रा मनाउने गर्दछन् ।

यस पर्वमा अन्य समुदायकाे समेत सहभागिता रहने गर्दछ । काठमाडौंको बसन्तपुरमा पनि गाईजात्राकाे विशेष कार्यक्रम गरिएकाे छ ।  

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन नेवार समुदायमा छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। 

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरू भएको मानिन्छ ।

रानीको मन शान्त पार्न विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समावेश गर्न राजा प्रताप मल्लकाे आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति छ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ ।

पछिल्लाे समयमा गाइजात्राका अवसरमा राजनीतिक ब्यवस्थामा हुने गरेका, सरकारले गरेका नराम्रा तथा खराबीमाथि खबरदारी गर्न व्यङ्ग्यात्मक प्रस्तुती समेत कलाकारहरूले राख्ने गरेका छन् ।

Facebook Comments