सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउँछौंः दीपक काेइराला
साबिक लेखनाथ नगरबासीले अहिले पनि कता कता पहिचान गुमे जस्तो लागिरहन्छ । पोखरा महानगरभित्रै परे पनि पोखराभन्दा फरक भएको मनोविज्ञान छँदै छ । यस्तो मनोविज्ञान विकासका पूर्वाधार र राजनीतिक नेतत्वले मात्र हटाउन सक्छ । यसका लागि पहल गर्ने माओवादी नेता दीपक कोइरालाले प्रतिवद्धता गर्नुभएकाे छ।
कास्की १ (१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका कोइरालाले प्राकृतिक सम्पदा, ताल, फाँट रहेको साबिक लेखनाथ क्षेत्र महानगरकै नमुना बन्न सक्ने सम्भावना औंल्याउनुभएकाे हाे ।
कोइरालाले पोखरा २६ सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन पहलकदमी लिने बताउनुभएकाे छ । मतदातासँगको भेटघाटमा उहाँले भन्नुभयाे, ‘यहाँ ५ हजार अट्ने सम्मेलन केन्द्र बनाउन सकिन्छ । स्थानीय जग्गा दिन तयार छन् । यसले लेखनाथ क्षेत्रको विकासमा पनि योगदान गर्छ ।’
कास्की १ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार किशोरदत्त बरालले स्थानीय, प्रदेश र संघमा गठबन्धनको सरकार बनेपछि विकासले गति लिने उल्लेख गर्नुभएकाे छ । उहाँले एजेन्डा र जनमतका कारणले गठबन्धनको जित निश्चित भइसकेको दाबी गर्नुभयाे ।
दरदैलोमा पूर्वमन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापा, प्रदेशका समानुपातिक उम्मेदवार झलकपाणि तिवारी, माओवादी केन्द्रका नेता कोमलनाथ बराल लगायत सहभागी थिए ।

