मेयर भएपछि श्रम संस्कृतिमा क्रान्तिः मेयर साम्पाङ
धरानका मेयर हर्क साम्पाङले नेपालमा श्रम संस्कृतिमा क्रान्ति शुरु गरेकाे बताउनुभएकाे छ । मेयर साम्पाङले आफू निर्वाचित भएपछि धरानमा खानेपानीकाे थप ४ वटा मुहान थप्न, वृक्षाराेपण गर्नका लागि सामाजिक सञ्जाल मार्फत् अपिल गरेपछि दैनिक हजाराैं धरानका नागरिक श्रमदानका लागि खटेका थिए । साे अभियान अहिले पनि जारी रहेकाे मेयर साम्पाङले उल्लेख गर्नुभएकाे छ ।
मेयर भएपछि १०० दिनमा के काम भयाे भनेर प्रश्न गर्नेहरूका लागि भन्दै मेयर साम्पाङले सामाजिक सञ्जालमा १३ वटा बुँदामा यस अवधिमा भएका कामकाे सूची सार्वजनिक गर्नुभएकाे हाे । उहाँले व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएकाे, सरसफाइमा सुधार गरेकाे प्रशासनिक सुधार, जलविद्युतकाे परीक्षण, बाटाे निर्माण, तटबन्ध, लागू औषध विरूद्धकाे अभियान लगायतका काम गरेकाे बताउनुभएकाे छ ।
धरानका मेयर स्वयं श्रममा सहभागी हुने गर्नुभएकाे छ । कतिपयले यस्ताे कार्यशैलीप्रति असहमति प्रकट गरेपनि मेयरले आफू श्रमजीवि कुल्ली नै भएकाे जवाफ फर्काउने गर्नुभएकाे छ ।

