इन्द्रजात्राले पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्छः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्राले पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने बताउनुभएकाे छ ।

काठमाण्डाैकाे महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्राकाे व्यवस्थापनबारे सरोकारवालाहरुसँगकाे छलफलमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठीयारका साथै अन्य सरोकारवलाहरुसँग छलफल गर्नुभएको हो ।

काठमाडौंवासीको महत्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रुपमा चिनाए पर्यटन उद्योगको विकासमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

इन्द्रध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रुपमा विकसित भएको बताउनुहुँदै उहाँले इन्द्रजात्रा अवलोकनमा सहभागि हुनेहरुलाई सहज हुने गरी सवै प्रवन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति, मन्त्रीहरु र नगरवासीहरु उपस्थित भई इन्द्रध्वजोत्थान गर्ने गरिन्छ । साथै विश्वका विभिन्न सहरका मेयरसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ ।

इन्द्रजात्रासँगै गणेश, भैरव र कुमारीको रथयात्रा, नाच, गान, झाँकी व्यवस्थापनका साथै  ट्राफिक र सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

नेपाली मौलिक मूर्त–अमूर्त संस्कृति जीवन्त राख्ने र विश्वमा नै यसको महत्व फैलाउन अवसरका रुपमा इन्द्रजात्रालाई लिनुपर्ने उहाँको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले इन्द्रजात्रा व्यवस्थापनमा महानगरपालिकाले गरिरहेको कामबारे जानकारी दिनुभयो । साहले संस्कृति र सम्पदा क्षेत्र संरक्षणका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

आठदिनसम्म मनाइने इन्द्रजात्रा पर्वमा वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइनेछ । 

कुमारी गणेश र भैरवको रथारोहण, देवी र लाखे नाच प्रदर्शन लगायत उत्वस गरिनेछ । राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख शान्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

Facebook Comments