थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

मन्त्रालयले अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४ सय ९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २ सय ८६ जना गरी १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६ सय ४९ जना निको भएका छन् । नेपालमा हालसम्म ९ लाख ९५ हजार ८ सय ८८ जनामा संक्रमण पुष्टि भएकाेमा ११ हजार ६ सय ३२ जनाकाे मृत्यु भएकाे छ भने ८ लाख १८ हजार ८ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

मुलुकभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ जना रहेकाे छ भने ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयले कोरोनाका बिरामीमध्ये १८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् रहेकाे जानकारी दिएकाे छ । विहीबार थपिएका मध्ये ६ हजार ८ सय ९१ काठमाण्डाै उपत्यकाका रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा ३६६, मोरङमा ३२६, सुनसरीमा २९८, रुपन्देहीमा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा १८७, कैलालीमा १७३, झापामा १७१, धनुषामा १२०, मकवानपुरमा ११६ र चितवनमा ११५ जनामा कोरोना संक्रमण देखिएको छ ।

माघ ७ गतेबाट सार्वजनिक स्थानमा जानका लागि काेराेना विरूद्धकाे खाेप कार्ड देखाउनुपर्ने नियम सरकारले लागू गर्दैछ । काेराेना संक्रमण तीव्र भएसँगै २५ जनाभन्दा बढी जम्मा हुन राेक लगाइएकाे छ भने शिक्षण संस्था बन्द गरिएकाे छ ।

Facebook Comments