धरान र धनगढीमा स्वतन्त्र उम्मेदवार मेयरमा निर्वाचित
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित हुनुभएकाे छ ।
निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित हुनुभएकाे हाे ।
राईले २० हजार ८२१ मत पाउँदा दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत प्राप्त गर्नुभयाे ।
धरानमा विगत १० बर्षयता सार्वजनिक सराेकारका विषय उठाएर आन्दोलनमा सरिक हर्कराजकाे चुनावी अभियानमा भने खासै तामझाम थिएन । तथापि एक्लै प्रचारमा हिड्नुभएका हर्कराजकाे लौरो चुनाव चिह्नमा धरानका जनताले मत दिएका हुन् ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित हुनुभएकाे छ । बेघाले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र हाँसिल गर्नुभयाे । त्यस्तै धनगढीमा यसअघि नै स्वतन्त्र उम्मेदवार गाेपाल हमाल विजयी बन्नुभएकाे छ ।

