पाेखराकाे मेयरमा धनराज, उपमेयरमा मञ्जुदेवी निर्वाचित
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य निर्वाचित हुनुभएकाे छ । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङ निर्वाचित हुनुभएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै धनराज आचार्य मेयरमा र उपमेयरमा मञ्जुदेवी गुरूङ निर्वाचित भएको घोषणा गरेको हो।
वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा २ लाख ७ हजार मतदता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
मेयरमा निर्वाचित धनराजले ५८ हजार ८९३ मत पाउँदा प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत प्राप्त गर्नुभयाे ।
दुइजनाकाे मतकाे अन्तर ६ हजार ४५ रह्याे । धनराजलाई सत्तारूढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजावदी, जनता समाजवादी र जनमोर्चाको समर्थन रहेको थियो।
उपमेयरमा लोकप्रिय मत ६० हजार ५४६ का साथ एमाले उम्मेदवार मञ्जुदेवी निर्वाचित हुँदा प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गर्नुभयाे । कोपिलाकाे भन्दा मञ्जुदेवीकाे मत ३ हजार ८८३ बढी हाे ।
पहिला ३३ मध्ये २२ वटा वडा जितेको एमाले यसपल्ट ९ वटामा सीमित हुन पुगेकाे छ । कांग्रेसले पहिला ११ वटा जितेकोमा यसपल्ट २३ वटा पुर्याएको छ । पोखराको वडा नम्बर २२ मा गठबन्धनकाे समर्थनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

