कांग्रेस बैठकः खड्काकाे नेतृत्वमा स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति गठन

नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मध्यनजर गर्दै स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरेकाे छ ।

स्थानीय तहकाे निर्वाचनका लागि गठित समितिकाे संयाेजक उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा.प्रकाशशरण महतलाई ताेकिएकाे छ । सदस्यहरू पछि सभापति शेरबहादुर देउवाले पार्टी शीर्ष तहमा परामर्श गरी ताेक्ने बताइएकाे छ ।

गत ११ गते शुरू भइ मंगलबार सम्पन्न् भएकाे केन्द्रीय समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकका निर्णयबारे जानकारी दिदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिनुभयाे ।

त्यस्तै गठबन्धनबारे कुनै ठाेस निर्णय नगरी बैठक सकिएकाे छ । कांग्रेसले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने जनाएकाे छ ।

केन्द्रबाटै गठबन्धनका बिषयमा ठाेस निर्णय नभएपनि स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले उल्लेख गर्नुभयाे ।

केन्द्रीय समिति बैठकले देशव्यापी रुपमा पार्टीको साधारण सदस्यता र क्रियाशील सदस्यता वितरण पनि सुरु गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तह निर्वाचनमा बहुसंख्यक स्थानमा विजयी हुने आधार बनेकाे निष्कर्ष समेत निकालेकाे छ ।

प्रदेशसभा सदस्यहरूले बुझाउने शुल्क प्रदेश समितिकै खातामा जम्मा हुने ब्यवस्था मिलाउने समेत निर्णय कांग्रेस केन्द्रीय समितिले गरेकाे छ ।

Facebook Comments