आज जेठ १५, गणतन्त्र दिवस
आज जेठ १५ गते, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस देशैभर विविध कार्यक्रमका साथै मनाइँदैछ ।
एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै २०६५ जेठ १५ गते मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घाेषणा भएकाे थियाे ।
सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
१० बर्ष लामाे सशस्त्र जनयुद्धपछि तत्कालीन ७ राजनीतिक दल र नेकपा (माओवादी)वीच राजाकाे सक्रिय शासन अन्त्य गर्ने उद्देश्य सहित १२ बुँदे समझदारी भएपछि २०६२/६३काे आन्दोलन सशक्त बनेकाे थियाे । जुन आन्दोलनका कारण तत्कालीन राजा ज्ञानेन्द्र आफ्नाे कदमबाट पछि हट्नुपरेकाे थियाे ।
दलहरूवीच संविधानसभाबाट नयाँ संविधान लेख्ने तथा राजतन्त्रका बिषयमा समेत टुंगाेमा पुग्ने सहमति अनुरूप २०६४ चैत्र २८ मा सम्पन्न निर्वाचनपछि बनेकाे जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्यकाे घाेषणा गरेकाे हाे ।
साेही दिन नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेकाे हाे । तर विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बनकाे निर्णय भने गरिसकेकाे थियाे ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ।
पहिलो संविधानसभाले संविधान जारी गर्न भने असफल भएकाे थियाे । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेकाे थियाे ।
साेही संविधानका आधारमा मुलुक अगाडी बढिरहेकाे छ । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले सक्रियताका साथ कार्य सञ्चालन गरिरहेका छन् ।
साेही संविधान बमाेजिम स्थानीय तहले दाेस्राे कार्यकाल शुरू गर्दैछन् भने संघ तथा प्रदेश पनि २०७४ मा सम्पन्न निर्वाचनपछिकाे पहिलाे कार्यकाल सम्पन्न भएकाे छ भने यही बर्ष निर्वाचन हुँदैछ ।

