संसद बैठकः जनयुद्धमा ज्यान गुमाउनेलाइ शहीद घोषणाको निर्णय कार्यान्वयन गर्न
प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले १० बर्षे जनयुद्धका क्रममा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा गर्न सरकारसंग माग गर्नुभएकाे छ ।
बुधबारको संसदको शुन्य समयमा आफ्नो धारणा राख्दै नेकपा माअवादी केन्द्रकी सांसद माझीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा हजारौं नेपालीहरुको रगत बगेको बताउँदै उनीहरुलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद् काे निर्णय कार्यान्वयन गरिनुपर्ने बताउनुभएकाे हाे । गण्तन्त्र उनीहरुकै रगतको उपज भएकाले उनीहरुलाई राज्यले बिर्सन नहुने उहाँको भनाई थियो ।
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धमा जीवन गुमाउनेहरूलाई सहिद घोषणाको निर्णय गरेको भन्दै उहाँले त्यो निर्णय हालसम्म कार्यान्वयन नभएकोले कार्यान्वयनतर्फ सरकारको संसदमार्फत ध्यानाकर्षण गराउनुभएकाे हाे ।
त्यसैगरी उहाँले अल्पसंख्यक र सिमान्तकृत समुदायको लागि छुट्टै संवैधानिक आयोग बनाउन पनि माग गर्नुभयाे । नेपालमा राज्यबाट निरन्तर उत्पिडनमा पारिएका माझी, चेपाङ, दराई, कुमाल, धिमाल लगायत अल्पसंख्यक सिमान्तकृत समुदायहरूलाई समेट्ने गरि छुट्टै अधिकार सम्पन्न संवैधानिक आयोग बनाउनु पर्ने सांसद माझीकाे धारणा थियाे ।

