स्वस्थानी ब्रतकथा शुरू

पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा सुरू भएकाे छ । हिन्दु धर्ममा आस्था राख्नेहरूले स्वस्थानी वर्त तथा माधवनारायणको पूजा आराधना सुरू गरेका हुन् ।

आजदेखि एक महिनासम्म अर्थात् माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

स्नान गरी शुद्ध भएर नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने तथा बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने परम्परा रहेकाे छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको काठमाडाैकाे साँखु क्षेत्र) को राजा भएको स्वस्थानी कथामा उल्लेख छ। त्यसैले साँखुको शालीनदीमा स्वस्थानी कथा भन्ने अवधिमा विशेष मेला लाग्छ । माघ महिनामा शालीनदीमा स्नानकै लागि हरेक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्।

Facebook Comments