जाजरकाेट भूकम्पः विपत्तिमा सरकारकाे पूर्ण साथ छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकाेट भूकम्पबाट प्रभावित क्षेत्रकाे अवलाेकन भ्रमण गर्नुभएकाे छ । भूकम्प प्रभावितहरूसँग कुराकानी गर्दै राष्ट्रपति पाैडेलले विपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएकाे छ ।
भूकम्प प्रभावितहरुको अवस्था बुझ्न आज भूकम्पको केन्द्रबिन्दु जाजरकोटको सदरमुकाम खलंगा र बारेकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा भन्नुभयाे “अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला ।”
विपतको समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै यो बेलामा एकैपटक १० वटा कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था हो भन्नुभयाे।
सो अवसरमा बारेकोट गाउपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरी मध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराउनुभयाे ।
भूकम्प प्रभावितहरुको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाईतेहरुलाई भेट्नुका साथै भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समेत छलफल गर्नुभएकाे थियाे ।
भूकम्प गएपछिको मुलुककाे अवस्थामा वैदेशिक भ्रमण गर्न अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएकाे थियाे । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति जाजरकोट पुग्नुभएकाे हाे ।

