रास्वपा सांसद दुई करोड घुस प्रकरणः सरकारले अनुसन्धान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे सरकारले अनुसन्धान गर्ने भएकाे छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताउनुभएकाे हाे ।

आज चितवनमा पत्रकारहरुको प्रश्नमा श्रेष्ठले दुई करोड घुस डिल भएको कुराबारे आधिकारिक रुपमा अनुसन्धान प्रक्रियाबाट जे पुष्टि हुन्छ त्यही अनुसार अघि बढ्ने बताउनुभयाे ।

उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे रास्वपाका नेताहरुले नै प्रष्ट पार्नुपर्ने पनि बताउनुभयाे । रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ ।

अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले चुनावमा अडियाे प्रकरण हतियार बनाउन खाेजेपनि दाेषी भएमा पार्टीले ७२ घण्टाभित्र कार्वाही गर्ने बताउनुभएकाे छ ।

Facebook Comments