रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टी सदस्य नरहने गरी कारबाही गरेको छ।

पार्टी सदस्यबाट हटाएपछि श्रेष्ठकाे सांसद पद पनि गुम्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले साे निर्णय संघीय संसद एवं निर्वाचन आयाेग समक्ष पेश गरेपछि समानुपातिक सांसद श्रेष्ठकाे पद खाली हुनेछ ।

खाली भएकाे ठाउँमा समानुपातिक सूचीबाट रास्वपाले अर्काे सांसद पठाउन पाउँछ ।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको हो।

बैठकपछि सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत प्रयाप्त आधार देखिएकाले कार्वाही गरिएकाे जानकारी दिनुभयाे । लामिछानेले भन्नुभयाे, ‘उहाँले अडिओ मेरो होइन, मैले भेटेकै छैन भन्नुभएको छ ।’ हामी छानबिनका लागि पनि सहयाेग गर्नेछाै । 

यसअघि गत आइतबार श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई दिनका लागि पैसा चाहिने भन्दै प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको थियो। 

उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो भने छानबिन गर्न समिति बनाएको थियो। 

उक्त समितिले मंगलबार श्रेष्ठको बयान लिएको थियो। समितिले आफ्नो प्रतिवेदन बुझाएको थियो। आजकै बैठकबाट रास्वपाले विन्दबासिनी कंशाकारलाई समानुपतिक सांसद बनाउने निर्णय पनि गरेको छ।

श्रेष्ठले भने आफ्नाे राजनीतिक करिअर समाप्त पार्न नियाेजित षडयन्त्र भएकाे दाबी गर्नुभएकाे छ । पार्टीले गरेकाे कारबाहीप्रति समेत असन्टुष्ट श्रेष्ठले काेर टिमबारे पनि छानबिन हुनुपर्ने बताउनुभएकाे छ ।

Facebook Comments