शीत भण्डारमा राखिएको सुन्तला कुँहिदा किसान चिन्तित

स्याङ्जामा शीत भण्डारमा राखिएको लाखौं मुल्यको सुन्तला कुहिएको छ । सिजनमा सस्तो भाउमा बेच्नुपर्ने भएकाले जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ११ का किसानले शीत भण्डारमा सुन्तला भण्डारण गरेका थिए । तर लाखौं मुल्यको सुन्तला कुहिएपछि किसानले उल्टो नोक्सानी बेहोर्नुपरेको छ ।

स्याङ्जा जिल्ला शीत भण्डार सहकारी संस्था लि.ले सञ्चालन गरेको शीत भण्डारमा सो स्थानका किसानले झण्डै १५० टन जति सुन्तला भण्डारण गरेका थिए । भण्डारण गरेका किसानको अधिकत्तम १५ प्रतिशतसम्म सुन्तलामा नोक्सानी भएको छ ।

आफूहरु पनि सिकाईकै क्रममा रहेकाले हाल प्रचलनमा रहेको प्रविधिअनुसार सुन्तला भण्डारण गरिरहेको र प्रयाप्त सावधानी नपुगेकाले सुन्तलामा नोक्सानी भएको हुन सक्ने कृषि विज्ञको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याङ्जा बरिष्ठ कृषि अधिकृत माधव लम्सालले अध्ययन अनुसन्धान गरेर शीत भण्डारमा सुन्तलाको प्रभावकारी भण्डारणको लागि लागिपर्ने बताउनुभयो ।

सुन्तला टिप्ने, शीत भण्डारसम्म लैजाने र क्रेटमा राख्ने लगायतका क्रममा प्रयाप्त सावधानी अपनाउनुपर्ने लम्सालको भनाई छ ।

के कारणले गर्दा सुन्तलामा नोक्सानी पुगेको आफूहरुले पनि अध्ययन गरिरहेको उहाँको भनाई छ ।

सुन्तलालाई कसरी कोल्ड स्टोरमा लामो समयसम्म राख्ने भनेर प्रचलित प्रविधि एवं पछिल्ले समयमा विकसित भएका प्रविधिका बिषयमा आफूहरु पनि अध्ययन अनुसन्धानमा नै रहेको लम्सालले उल्लेख गर्नुभयो ।

१२०० मेट्रिक टन क्षमताको उक्त शीत भण्डार सुन्तला भण्डारणकै उद्देश्य सहित स्थापना भएको र एउटा च्याम्बरको आधाभन्दा कम १५० मेट्रिक टन सुन्तला भण्डारण गरिएको थियो । अध्ययनकै क्रममा भएकाले क्षमताभन्दा निकै कम मात्र भण्डारण गरिएको पनि लम्सालले जानकारी दिनुभयो ।

कृषकलाई कृषि ज्ञान केन्द्र मार्फत् शीत भण्डारमा सुन्तला राख्न क्रेट अनुदानमा दिनुका साथै प्राविधिक सल्लाह समेत दिने गरिएको छ । गत बर्ष भण्डारण गरिएको मध्ये करिव १० प्रतिशत क्षति भएकोमा यस बर्ष केही बढी नोक्सानी भएको हो
शीत भण्डारका कारण बजारमा सुन्तलाको मुल्य भने कृषकले केही राम्रो पाएका छन् ।

कृषकले राम्रो मुल्य नपाए शीत भण्डारमा राख्ने भएपछि व्यापारीले यसअघिका बर्षमा भन्दा केही बढी मुल्य तिरेर सुन्तला खरिद गर्न थालेका छन् । स्याङ्जा जिल्ला सुन्तलाको अत्याधिक उत्पादन हुने जिल्ला हो ।

Facebook Comments