सर्वदलीय बैठकः राष्ट्रपति, सभामुख लगायतका पदमा कांग्रेसकाे चासाे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाउनुभएको थियो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिनुभयो। प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव माग्नुभएको थियो।

प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारेमा दलहरूको धारणा र सुझाव माग्नुभएको थियो।

उहाँले आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रीपरिषदले पूर्णता पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राख्नुभएको थियो।

बैठकमा कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालका पदमा छलफल गर्ने बताएकाे छ ।

बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेस प्रतिनिधिसभाको प्रतिपक्षी दल भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो रहेको जानकारी गराएको हाे ।

बैठकमा कांग्रेसले विश्वासको मत दिएपनि कांग्रेस प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल भएको र शेरबहादुर देउवा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपस्थित भएको जानकारी गराएको थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित हुनुहुन्थ्यो।

Facebook Comments