शान्ति निकेतनमा विद्यार्थी दीक्षित, १० को बिदाई

पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरेको छ भने एसईई दिएका विद्यार्थीको बिदाई पनि गरिएको छ ।  

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गर्नुभयाे ।

तिवारीले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताउनुभयाे ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेको जनाउनुभयाे । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको र आउँदा दिनमा ११ र १२ कक्षाका प्राविधिक धारका विषयहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्याल, विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदी, सीपीएस प्रमुख नारायणी पराजुली, अभिभावकका तर्फबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल गौसिक आलेका अभिभावक गणेश आलेमगरले बोलेका थिए ।
कार्यक्रममा शैक्षिक अनुशासनसँगै सरसफाईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

यसैवीच विद्यालयले यहि चैत २३ गते समापन भएको एसईईमा सहभागी भएका विद्यालयका १४ औं ब्याचका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी उत्कृष्ट नतिजाको शुभकामनासहित बिदाई गरेको छ ।

बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी भएका सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गर्नुभयाे ।

Facebook Comments