एसियाली विकास बैंकले ७० कराेड अनुदान र २१ अर्व ऋण सहयाेग गर्ने
एसियाली विकास बैंक (एडिबी)ले १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान प्रदान गर्ने भएकाे छ ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि सहुलियपूर्ण ऋण र अनुदान सम्झौता भएको छ।
बुधबार अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरेका छन् ।
सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ।
सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ।

