आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै
काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ ।
२७ पुस १७७९ मा गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । २५ चैत १७९९ मा पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट विजय हासिल गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यकामा विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
राष्ट्रपतिकाे शुभकामनाः पृथ्वीनारायण शाह विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताउनुभएकाे छ ।
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताउनुभएकाे हाे ।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानलाई बिर्सन नहुने उल्लेख गर्नुभएकाे छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘आधुनिक नेपालसम्म आइपुग्दा इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले पु¥याएको योगदानको निरन्तरताका कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।’
त्यस्तै एकता दिवस, पृथ्वी जयन्तीका अवसमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको विविधतामा एकतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्याएको बताउनुभएकाे छ।
नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बिचमा एकताको उत्सव मनाउन एकता दिवस महत्वपूर्ण अवसर हुने बताउनुभएकाे छ ।

