भरतपुरमा इच्छुकको स्मृतिमा दीप प्रज्ज्वलन
जनपक्षीय कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को स्मृति दिवसको अवसरमा चितवनको भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ । इच्छुकको १७ औँ स्मृति दिवसको अवसर पारेर सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन गरिएको हो ।
प्रेस चौतारी नेपाल चितवन र प्रेस सेन्टर चितवनको आयोजनामा भएको दीप प्रज्ज्वलनमा पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि एवम् राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
१७ औँ स्मृति दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश सदस्य तथा प्रदेश नम्बर ३ का सांसद घनश्याम दाहालले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारिता र साहित्यमार्फत कृष्ण सेन इच्छुकको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले स्वर्गीय सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या गरेको बताउनुभयो । पत्रकार तथा कवि कृष्णसेन इच्छुकको तत्कालिन शासकले २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरेको थियो । प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा दीप प्रज्ज्वलन गरिएको थियो ।

