क्रिकेट रंगशाला निर्माण कार्य अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेशन सहमत
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढाउने भएको छ । यसअघि स्थानीयले रंगशाला निर्माणस्थलमा लगाइएको अस्थायी बारमा डोजर लगाएर भत्काएपछि फाउण्डेसनले काम गर्ने वातावरण नभएको भन्दै निर्माण कार्य स्थगित गरेको थियो ।
चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिको बैठक बसी रंगशाला निर्माणको लागि सहजीकरण गर्ने भन्दै काममा फर्किन आह्वान गरेपछि फाउन्डेसनले निर्माण कार्यलाई अगाडि बढाउने निर्णय गरेको हो ।
फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरीय मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने निर्णय विज्ञप्ति मार्फत् जानकारी दिनुभएको छ ।
‘परियोजना सुचारु गर्न चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं’ फाउण्डेसनका अध्यक्ष कट्टेलद्वारा विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाल र नेपालीलाई खेलकूदको माध्यमबाट चिनाउने राष्ट्रिय महत्वको विषय बनेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सम्पूर्ण देशभक्त नेपाली नागरिकको गौरव र भावनासँग जोडिएको वृहत परियोजना भएकाे उल्लेख छ ।



