चितवनकाे रत्ननगरमा राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गरिने
चितवन जिल्लाकाे रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । पुल निर्माणसँगै राजमार्गमा पैदलयात्रीलाइ बाटाे काट्न सहज हुने र सवारी दुर्घटना समेत कमी आउने विश्वास गरिएकाे छ ।
नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयाे ।
नगरपालिकाले आकाशे पुल निर्माणका लागि यसै आर्थिक वर्षबाट काम शुरु गर्ने भएकाे छ । नगरपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाका योजना शाखा प्रमुख ई प्रकाश ढुङ्गानाका अनुसार दुई वटा पुल सम्पन्न गर्न रु नौ करोड ५० लाख लाग्नेछ ।
सडक चौडा भएमा सार्न मिल्ने गरी फलाम संरचना प्रयाेग गरी आकाशे पुल निर्माण गर्न लागिएको हो ।
सडकको दुवैतर्फ घना बस्ती भएकाले विद्यार्थी, वृद्धवृद्धा, फरक क्षमता भएका मानिससँगै सर्वसाधारणलाई राजमार्ग पार गर्न कठिन हुँदै आएको छ ।
यी पुल जिल्लाका पहिलो आकाशे पुल हुनेछन् । नगरपालिकाको सौन्दर्यतालाई समेत ध्यानमा राखेर आकर्षक पुल बनाइने प्रमुख वनले जानकारी दिनुभयो ।

