कश्मिरमा विपक्षी नेताहरु नजरबन्दमा, इन्टरनेट र टेलिफोन सेवा बन्द
भारतको केन्द्र सरकारले कश्मिरमा इन्टरनेट र फोन सेवा बन्द गरी विपक्षी नेताहरुलाई नजरबन्दमा राखेको छ ।
भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको हो । कश्मिरको राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

बिबिसिका अनुसार श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोन लगायतका नेताहरुलाई घरमै नजरबन्दमा राखिएको छ ।
श्रीनगरमा भारतको संविधानको धारा १४४ लागु गरिएको छ । यो धारा लागु भएपछि अर्को आदेश नभएसम्म यस क्षेत्रमा मानिसहरुले आवतजावत गर्न नपाउने अबस्था हुन्छ भने यस अवधिभर सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् ।

कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा समेत रद्द गरिएको छ । अमरनाथ जान लागेका भक्तजन र पर्यटकलाई फिर्ता हुन सरकारले आग्रह गरेको थियो ।
यसैबीच कश्मिरको पछिल्लो अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार विहान मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकले कश्मिरको अवस्थाका बारेमा गृहमन्त्रीले संसदमा विशेष बक्तव्य दिने बताइएको छ ।
श्रोतका अनुसार अमरनाथ यात्राका क्रममा आतंकवादी आक्रमण हुन सक्ने सूचना पाएपछि सरकारले यस्तो कदम चालेको हो ।
हिन्दु समुदायमाथि उग्रवादी आक्रमण गरी हिंसा भड्काउने प्रयास हुन लागेको भारतीय उच्च सुरक्षा निकायको विश्लेषणका आधारमा पछिल्ला कदम चालिएको विश्वास छ । कश्मिरको बिषयमा भारत र पाकिस्तानवीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

