नागपञ्चमीः नागको पुजाआराधनाका साथ मनाईंदै
हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रही आएको छ ।
सोही अनुसार यस बर्ष आज परेको नागपञ्चमीका अवसरमा नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिदैंछ ।
यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ भने घरघरमा नागको तस्वीर टाँसेर पुजा आरधाना गरिन्छ ।
त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको मूल ढोकामा टाँस्ने गरिन्छ ।
आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने प्रचलन रहेको छ ।
नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ ।
त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ ।

