बोयर जातको बाख्रामा हाडनाता समस्या आउन सक्ने
राज शर्मा/उत्तम पण्डित
नेपालमा बोयर लगायतका विभिन्न जातका बाख्रामा हाडनाता समस्या आउन सक्ने देखिएको छ । बोयर जातका बाख्रामा व्यवस्थित व्रिडिङ नहुँदा यस्तो समस्या आउन लागेको हो ।
नेपालका विभिन्न जिल्लामा अष्टेलियन बोयर र अफ्रिकन बोयर जातिको बाख्रा पालनमा आकर्षण बढिरहेको छ ।
अफ्रिकन बोयर जातकाे बाख्रा पालनलाई बढावा दिने कार्यमा म्याग्दीका योगेन्द्रबहादुर खड्काको योगदान उच्च रहेको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २३ मा जगतपुर एग्रो फर्म खोलेर खड्काले बोयर बाख्रामा क्रान्ति नै ल्याउनुभएको छ ।
म्याग्दीमा जन्मेर लामो समयसम्म काठमाण्डौ कर्मथलो बनाउनुभएका खड्काले विदेशमा धनी व्यक्तिहरुले कृषिमा लगानी गर्ने तर नेपालमा त्यस्तो नदेखेपछि बोयर बाख्रा पालनमा नमुना कार्य गर्ने उद्देश्य सहित नै चितवन आएको बताउनुभयो ।
खड्काले आफ्नो र्फमा बोयर जातका सतप्रतिशत र क्रस गराएर नश्ल सुधार गरिएका पाठापाठी वीउका रुपमा बिक्री गर्दै आउनुभएको छ ।

ती पाठा पाठीको मुल्य गुणस्तर हेरी प्रतिकेजी १८०० देखि ३००० सम्ममा विक्री गरेको उहाँले जानकारी दिनुभयो ।
हाल उहाँको फर्ममा किसानहरुले प्रत्यक्ष पाठा पाठी किन्न जाने गर्दछन् । माग अनुसार आपुर्ति गर्न समेत कठिनाई परेको उहाँको भनाई छ ।
गत बर्षमात्रै झण्डै ४०० जति बाख्रा(पाठा पाठी) विक्री गरेको र आफूले विक्री गरेको ठाउँबाट कुनै पनि गुनासो नआएको खड्काले दावी गर्नुभयो । फर्ममा अहिले ४०० जति बोयर जातका बाख्रा रहेका छन् ।
बोयर जातको बाख्रामा स्थानीय जातका बाख्राको तुलनामा तौल बृद्धि बढी हुन्छ । क्रस गराइएको समेत २०० ग्राम प्रतिदिनसम्म तौल बढ्ने र शुद्ध बोयर जातको बाख्राको भने दैनिक ४ सय ग्रामसम्म तौल बढ्ने देखिएको छ ।
मानव स्वास्थ्यका लागि अधिक प्रोटिन भएको मासु हानीकारक हुने तर बोयर जातको बाख्राको मासुमा कम प्रोटिन हुने हुँदा स्वास्थ्यका लागि पनि लाभदायक हुने खड्काको तर्क छ ।
हाडनाताको समस्या हुन सक्ने
शुभन्यूजसँगको कुराकानीमा खड्काले बोयर बाख्रामा हाडनाता सम्बन्धको गम्भीर समस्या आउन सक्ने बताउनुभयो ।

उहाँका अनुसार बोयर बाख्रामा हाडनातामा नै गर्भधारण हुन सक्ने अवस्था आउन लागेको हो ।
ट्याग लगाएर विक्री वितरण गरेपनि ट्याग हराउने र एउटै केन्द्रीकृत प्रणाली मार्फत् प्रविधिको उपयोग गरी डाटा हेर्ने परिपाटी नभएकाले यो समस्या आउन लागेको हो ।
आफ्नो फर्मबाट गएकाको विवरण भने अप टु डेट रहेको र छिट्टै सफ्टवेयर बनाएर व्यवस्थित गर्न लागेको उहाँको भनाई छ ।
खड्काले कृषकले मासुकाे प्रयाेजनका लागि एउटा बाेयरकाे व्याड बाेका खरीद गरी स्थानीय बाख्रामा क्रस गराएमा राम्राे कमाइ गर्न सक्ने बताउनुभयाे ।

