राजनीतिक परिवर्तनलाई दिगाे बनाउन आर्थिक क्रान्ति आवश्यकः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकमा भएको राजनीतिक परिवर्तनबाट नयाँ पहिचान बनेको उल्लेख गर्नुभएको छ ।
काठमाण्डौमा नेपाल ट्रेकिङ एशोसिएसन (टान)को ४१ औं वार्षिक साधारण सभा तथा निर्वाचनका अवसरमा बोल्दै उहाँले मुलुकको समृद्धि र विकासका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले लाभका लागि मात्रै नभई सेवाभावका साथ व्यवसाय गर्न उहाँले अपील गर्नुभयो । एकै पटकमा धेरै कमाउने लाेभ नगर्न व्यवसायीलाइ उहाँकाे आग्रह थियाे ।
ट्रेकिङ क्षेत्रले विदेशीहरुसँग गर्ने व्यवहारले देशको परिचय दिने भएकोले सेवा र कर्मको भावनासहित मुलुकको इज्जत र प्रतिष्ठालाई समेत ख्याल गरेर व्यवसाय गर्नुपर्ने उहाँको भनाई छ ।
अध्यक्ष प्रचण्डले नेपालको पर्यटन क्षेत्र अधिक संभावनायुक्त क्षेत्र रहेको र मुलुकको समृद्धिका लागि पनि पर्यटन क्षेमा नै जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपील गर्नुभयो ।
राज्यका तर्फबाट व्यवसायमैत्री ऐननियम बनाउनेतर्फ पहल गर्ने उहाँको भनाई थियो । राजनीतिक परिवर्तनले मात्र नपुग्ने भन्दै मुलकमा तीव्र आर्थिक विकास आवश्यक भएकोमा प्रचण्डले जोड दिनुभयो ।
राजनीतिक परिवर्तनलाई दिगो बनाउन पनि आर्थिक पक्षलाई बलियो बनाउनुपर्ने उहाँको धारणा छ ।
नेपाल ट्रेकिङ एशोसिएसन (टान)को यस अघिवेशनले नयाँ नेतृत्व समेत चयन गर्दैछ ।

