संविधानमा प्रश्न उठाउने बेला भएको छैन: मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशिल दस्तावेज रहेका कारण जनताको चाहना र भावना अनुसार परिर्वतन गर्न सकिने बताउनुभएको छ ।
चौथो संविधान दिवसको अवसरमा जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले संयुक्त रुपमा आयोजना गरेको नेपालको संविधान, जनअपेक्षा र कार्यन्वयनको अवस्था विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
उहाँले संविधान गतिशिल भएपनि अहिले नै प्रश्न उठाउने बेला नभएको बताउनुभयो । ‘संविधानको सामथ्र्य हेरौं संविधानको विषयमा प्रश्न उठाउने बेला भएको छैन’,उहाँले भन्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष कमल आर्यलले संघिय सरकार बन्नु अगावै आवश्यक कानुनहरु बन्न नसक्दा समस्या देखिएको बताउनुभयो ।
नेकपाका नेता दामोदर पौडेल वैरागीले भनसुन गरेका र आफ्ना नजिकका मान्छेलाई प्राथमिकतामा राख्ने प्रवृतिका कारण संविधान कार्यन्वयनमा समस्या देखिएको बताउनुभयो ।
नेपाली कांग्रेस कास्की जिल्ला सचिव देवेन्द्र रानाभाटले संविधानलाई सम्मान गरेर जनतासम्म सेवा पुर्याउन प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।
गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष विना सिलवालले द्वन्द्व पिडीतहरुको पहिचान गर्न प्रदेश सरकार संग आग्रह गर्नुभयो ।

