बैंकिङ कसुर मुद्दामा बैंक अफ काठमाण्डूका तत्कालीन सिइओ अजय श्रेष्ठ पक्राउ
बैंकिङ कसुर मुद्दामा बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय श्रेष्ठ पक्राउ परेका छन् । उनीसहित ६ जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो ।
सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार सिइओ श्रेष्ठसहित ६ जनालाई सीआइबीले शुक्रबार पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा तीन जना बहालवाला कर्मचारी समेत रहेका छन् । उनीहरुलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हाे । पक्राउ पर्नेहरुमा पूर्वसिइओ श्रेष्ठ, बिक्रम पन्त, शुष्मा शाह, किरण बोहोरा, पुष्पराज भण्डारी, ऋचा श्रेष्ठ रहेका छन् ।
खोलाको जग्गा धितोमा राखि ऋण प्रवाह गरेको अभियोगमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको पाण्डेले जानकारी दिनुभयाे ।
सन् २०१५ मा झापाका एक ऋणी (सुरेन्द्र श्रेष्ठ) ले बैंक अफ काठमाण्डूबाट लिएको ५ करोड रुपैयाँ ऋणको साँवा रकम नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको नक्कली पूर्जा बनाएर बैंकलाई ठगी गरेको खुलेको थियो ।
उक्त तथ्य फेला परेपछि बैंकले केही दिन पहिले ऋणीका नाममा किटानी जाहेरी दिएको थियो । सो विषयमा प्रहरीले पूर्व सिइओ श्रेष्ठलाई पनि अनुसन्धानको दायरामा ल्याएकाे हाे ।

