कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको मानवअधिकार आयोगकाे ठहर
राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेकाे निष्कर्ष निकालेकाे छ ।
सर्लाही इन्चार्ज समेत रहेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको ठहर आयोगले गरेकाे हाे ।
प्रहरीले भने विप्लव समूहसँगकाे दाेहाेराे मुठभेडमा पाैडेलकाे मृत्यु भएकाे दावी गरेकाे थियाे ।
संसदमा समेत पाैडेलकाे हत्या नियन्त्रणमा लिएपछि भएकाे भन्दै छानविनका लागि सांसदहरूले माग गरेका थिए ।
घटनाको स्थलगत अध्ययन गरेको आयोगले सरकारी दावीलाई अस्वीकार गर्दै प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा खटिएका प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर अनावश्यक बल प्रयोग गरेको र नौ गोली हानेर मारेको निष्कर्ष निकालेकाे छ ।
दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति, संकलित प्रमाण समेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो ।’
मानवअधिकार आयोगले पीडित परिवारलाई तीन लाख क्षतिपूर्ति दिन सरकार समक्ष सिफारिस समेत गरेको छ ।
आयोगले स्वतन्त्र र निष्पक्ष छानविन गर्न तथा प्रहरीलाई निर्देशन दिनेदेखि कारबाही गर्न र तीन जना प्रहरीलाई तत्काल निलम्बनकाे कारवाही गर्न समेत भनेकाे छ ।
गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा पौडेलकाे प्रहरी कारवाहीमा मृत्यु भएकाे थियाे ।

