धन्वन्तरी जयन्ती मनाइँदै
आज वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाइँदैछ ।
हिन्दु धर्मग्रन्थमा देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको उल्लेख छ ।
आयुर्वेदका चिकित्सकहरुले धन्वन्तरी जयन्ती विशेष महत्वका साथ मनाउने गर्दछन् र साथमा सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।
नेपालमा पनि विभिन्न आयुर्वेदिक अस्पताल र आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले धन्वन्तरी दिवस मनाउने गर्दछन् ।
काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ ।
हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापकका रूपमा विशेष सम्मानका साथ मान्ने चलन छ ।

