विश्वकप छनोटमा नेपाल कुवेतसँग १–० पराजित

फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल १–० ले पराजित भएको छ ।

भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै नेपालमाथि दबाब दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो ।

त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो ।

२३ औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अविशेक रिजाल डिबक्स भित्र चुक्न पुगे ।

तर २८ औं मिनेटमा नेपालले गोल खान पुग्यो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।

त्यसपछि ३६ औं मिनेटमा कुवेतले फेरि अर्को मौका पाएको थियो । उसका अल रेसादीले हेडको प्रयास फ्रेममा रहन सकेन । त्यसपछि ३९ औं मिनेटमा कुवेतले अर्को अवसरको सिर्जना गरेको थियो । तर डिबक्स भित्रबाट फैसलले गरेको प्रहार फ्रेम बाहिर गयो ।

कुवेतविरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो ।

तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर त्यो प्रहार पोलमा लागेर फर्कियो ।

त्यसपछि तेजले नै प्रहार गर्दा पोष्टमाथिबाट बाहिरियो । जसका कारण नेपालले पहिलो हाफमा एक गोलले पछि पर्न गयो ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन ।

त्यसको विपरीत कुवेतले ७८ औं मिनेटमा अर्को अवसर पाएको थियो । जसलाई किरण चेम्जोङले मुस्किलले बचाए ।

८८ औं मिनेटमा कुवेतले अर्को गोलको अवसर सिर्जना गरेको थियो । जसमा उसका अल सलमानले गरेको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरीयो ।

खेलको ९० औं मिनेटमा कुवेतले फ्रिकिकको मौका पाएको थियो । उसका कप्तान बदरको प्रहारलाई किरण चेम्जोङले बचाए ।

त्यसपछि नेपालले एउटा प्रहार गर्दा त्यसमा कुवेती गोलकिपर बाधक बने ।

यो जितले कुवेतको पाँच खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ । यसअघि नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो ।

Facebook Comments