सरकार नागरिक स्वतन्त्रता र मानव अधिकार संरक्षणमा प्रतिबद्धः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नागरिक स्वतन्त्रताकाे रक्षा र शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।

साथै उहाँले समाजमा अमन चयन र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयाेगका लागि सबैलाई आग्रह समेत गर्नुभएकाे छ ।

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयाे ।

उहाँले मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी समेत दिनुभयाे ।

गृहमन्त्री थापाले सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउनका लागि ऐन संशोधनको अन्तिम तयारीमा रहेको र छिट्टै ऐन संशोधन हुने विश्वास व्यक्त गर्नुभयाे ।

आयोगका अध्यक्ष अनुपराज शर्माले बाल विवाह, महिला हिंसा, मानव बेचबिखन यथावत रहेको, पीडितहरूको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसकेको र समाजमा जातीय भेदभाव कायमै रहेकाे बताउनुभयाे ।

Facebook Comments