समाजवादी पार्टी नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि नै सो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले प्रधानमन्त्री समक्ष राजीनामा बुझाई सक्नुभएको छ ।

पार्टीको कार्यकारिणी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधानसभाबाट संविधान हतार हतार घोषणा गरिएको बताउनुभयो ।

उहाँले संविधान अपूर्ण रहेकाले दियो बालेर स्वागत गर्ने र ब्ल्याक आउट गर्ने सबैले स्वीकार हुनेगरी संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि प्रयास गर्ने बताउनुभयो ।

उहाँले संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएको तर सरकारको नेतृत्व गरेको दल नेकपा र प्रधानमन्त्री केपी शर्माओली त्यसका लागि तयार नभएकाले सरकारमा रहनु औचित्यपूर्ण नरहने उल्लेख गर्नुभयो ।

संविधानमा रहेका त्रुटी सच्याउनका लागि सदन र सडकमा संघर्ष गर्ने पनि उहाँको भनाई रहेको छ ।

क्याबिनेट बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव लैजादैं प्रधानमन्त्रीबाट ठाडै अस्वीकार गर्दै संशोधन नै आवश्यक नभएको बताएका कारण यसअघिको सहमति तोड्ने काम भएको यादवको भनाई रहेको थियो ।

Facebook Comments