कांग्रेसकाे महाधिवेशन फागुनमै हुने

नेपाली काँग्रेसले पार्टीकाे १४ औँ महाधिवेशन यसअघि निर्धारित मिति आगामी फागुन ७ देखि १० गते नै गर्ने निर्णय गरेकाे छ ।

पूर्वनिर्धारित पार्टीको १४ औँ महाधिवेशनको मिति कायम रहेपनि समायोजन, क्रियाशील सदस्यता वितरण र प्रदेश तथा स्थानीय तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।

काँग्रेसको साेमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो । 

यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि असोज १५ गतेसम्म र उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे।

यसैवीच कात्तिकमा हुने भनिएकाे स्थानीय तह र वडाका अधिवेशन पुसमा गर्ने निर्णय समेत केन्द्रीय समितिले गरेकाे छ ।

Facebook Comments