सरकारकै कारण संक्रमण झन् बढ्याेः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नै उद्घाटन र शिलान्यासकाे नाममा भीड भाड गराएकाे बताउनुभएकाे छ । साथै सरकारकै अकर्मण्य रवैयाका कारण कोरोना संक्रमितहरुले उपचार नपाउने अवस्था आएको देउवाकाे आराेप छ ।
देउवाले संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संस्थाले धान्नै नसक्ने स्थिति बनेको र आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनको अभाव हुने अवस्था सिर्जना हुँदा समेत सरकारले ठाेस कदम चाल्न नसकेकाे बताउनुभयाे ।
शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले काेराेना राेकथामका लागि अस्पतालहरूमा बेड संख्या बढाउन, पर्याप्त अक्सिजनकाे ब्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षण व्यापक बनाउन तथा सीमा नाकामा अनिर्वाय पीसीआर गर्न र रिपोर्ट नआउँदासम्म होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन पनि देउवाकाे माग रहेकाे छ ।
लकडाउन गरिएपनि शहरबाट लाँखाै मानिस गाउँ पुगेकाे र त्यसले झनै संक्रमण फैलन सक्नेतर्फ सचेत हुनुपर्ने देउवाकाे भनाइ छ ।

