बैशाख २७ मा संसदकाे अधिवेशन डाक्न सरकारकाे सिफारिश, प्रधानमन्त्रीले विश्वासकाे मत लिने

नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने जानकारी गराउनुभएकाे छ ।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले संसदमा विश्वासको मत लिनेबारे जानकारी गराउनुभएकाे हाे । बैशाख २७ मा संसदकाे अधिवेशन डाक्न सिफारिश गर्ने र साेही दिन विश्वासकाे मत लिने तयारी प्रधानमन्त्रीकाे छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुन: अस्तित्वमा ल्याएको थियो। प्राविधक रूपमा प्रधानमन्त्रीसँग बहुमत रहेपनि राजनीतिक रूपमा भने अन्याैलकै अवस्था रहेकाे छ ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारीमा लागेका छन् । संसदकाे चाैंथाे ठूलाे दल जनता समाजवादी पार्टीभित्र सरकार गठनका सन्दर्भमा एक मत नहुँदा राजनीतिक अन्याैल बढेकाे हाे ।

यही अन्याैलका बीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य थाल्नुभएकाे हाे । जसपामा अध्यक्ष महन्थ ठाकूर र राजेन्द्र महताे लगायतका नेता वर्तमान सरकारप्रति नरम छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराइ लगायतका नेताहरू याे सरकारकाे विपक्षमा देखिएका छन् ।

Facebook Comments