थापालाई सांसदकै हैसियतमा काम गर्न दिनूः सर्वाेच्च
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेकाे छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही अन्तिम फैसला नहुँदासम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीकाे साधारण सदस्यबाट निष्कासन गर्नुका साथै प्रदेश सभा सदस्यबाट समेत हटाउने प्रयाेजनका लागि गण्डकी प्रदेश सभामा जानकारी गराएकाे थियाे ।
राजमाेले दिएकाे जानकारीपछि प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले थापालाई दलले कारबाही गरेको पत्र प्राप्त भएको जानकारी प्रदेश सभा बैठकमा गराउनुभएपछि थापा पदमुक्त हुनुभएकाे थियाे ।
त्यसविरुद्ध थापाले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले थापालाई गरिएको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
अन्तरिम आदेशमा सर्वोच्चले थापाले दलको ह्वीप उल्लंघन गरेको नदेखिएकाे उल्लेख गरेकाे छ ।



