गण्डकी प्रदेशमा मुख्यमन्त्री र ४ मन्त्रीले सपथ लिदैं
गण्डकी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा प्रदेश सरकार गठन हुन लागेको हो ।
प्रदेश प्रमुख सीताकुमारी पोखरेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी गर्नुभएका कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
आज पहिलो चरणमा मुख्यमन्त्रीसँगै काँग्रेसबाट कुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट लमजुङकी सांसद मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट गोरखाका सांसद हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)लाई सपथ गराउन लागिएको हो ।
मुख्यमन्त्री सहित ५ सदस्यीय मन्त्रीमण्डल गठन हुने भएपनि मन्त्रालय नतोकी विनाविभागीय मन्त्रीका रुपमा सपथ गराउन लागिएको स्रोतले जनाएको छ ।
गठबन्धनका दलहरुवीच मन्त्रालय बाँडफाँड सम्बन्धमा छलफल गर्नुपर्ने मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।
दलहरुमा मन्त्रीका आकांक्षी धेरै भएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन केही समय लाग्ने बताइएको छ ।

