राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानकाे गम्भीर उल्लघंन भएकाे दावी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ को रिटको सुनुवाइमा बहस गर्ने कानुन व्यवसायीहरूले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानकाे गम्भीर उल्लघंन भएकाे बताएका छन् ।
संविधानकाे सवै धारा अनुसार एकै व्यक्ति प्रधानमन्त्री बन्न खाेज्नु र राष्ट्रपतिले प्रधानमन्त्रीमा केपी नै चाहिन्छ भन्ने जस्ताे गरेकाे उनीहरूकाे तर्क रहेकाे छ ।
प्रतिनिधि सभा विघटन मुद्दामा बुधबारदेखि संवैधानिक इजलासमा सुरू भएको छ । बहसमा देउवा पक्षका वकिलहरूले विश्वासको मतबाट वैशाख २७ मा फेल भएपछि ओलीले प्रधानमन्त्री बन्ने वैधानिकता गुमाएको जिकीर गरेका छन् ।
बहसका क्रममा प्रधानमन्त्रीकाे मात्रै नभइ राष्ट्रपतिकाे भूमिकामाथि समेत गम्भीर प्रश्न उठेकाे छ ।
बहसका क्रममा अधिवक्ता गाेविन्द बन्दीले १४९ जनाको हस्ताक्षर बुझाएपछि देउवाकाे दाबी नपुगेको भन्ने अधिकार राष्ट्रपति भण्डारीलाई नभएको बताउनुभयाे । ओली प्रधानमन्त्री नबने कोही पनि बन्न हुन्न भन्ने नियत राष्ट्रपतिको भएको उनको तर्क थियो।
‘एउटा गीत छ श्रीमान, मलाई त्यही केटी चाहिन्छ भन्ने। हाम्रो राष्ट्रपतिले पनि त्यही गीतमा झैँ मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नु भयो,’ अधिवक्ता वन्दीकाे भनाइ थियाे ।
बुधबार इजलासमा समक्ष अधिवक्ता खम्बबहादुर खाती, वरिष्ठ अधिवक्ता महादेव यादव, बद्रीबहादुर कार्की र शम्भु थापाले बहस गरेका थिए ।

