गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, गठबन्धनभित्रै असन्तुष्टी
गण्डकी प्रदेशकाे मन्त्रिपरिषद विस्तार भएकाे छ । आज विहीबा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद बिस्तार गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट ६ मन्त्री थप्नुभएकाे छ । याेसँगै मन्त्रिपरिषद् ११ सदस्यीय भएकाे छ । यसअघि पाेखरेल सहित ५ सदस्यीय मन्त्रिमण्डल रहेकाे थियाे ।
विस्तार भएकाे मन्त्रिपरिषद्मा कांग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री, बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री , मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री बन्नुभएकाे छ ।
माओवादीबाट रामजी बराल अर्थ मन्त्री, माओवादीका चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री नियुक्त हुनुभएकाे छ।
यसअघि नै जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, स्वतन्त्र सांसद राजिब गुरूङ, युवा तथा खेलकूद मन्त्री,माओवादीबाट मधु अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएकाे थियाे ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरिसकेका छन् । पूर्वसहमतिअनुसार मुख्यमन्त्री अघि नबढेको भन्दै जसपाले सपथ ग्रहण बहिष्कार गरेको छ।
दुई सांसद रहेको जसपाले दुई जना नै मन्त्री हुनुपर्ने माग गरिरहेको थियो। काँग्रेससँग साे अनुसार सहमति पनि भएकाे थियाे । जसपाले सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएकाे छ ।
तर कांग्रेसले भने केन्द्रमा भएकाे सहमति अनुसार नै जसपालाइ एउटा मात्र मन्त्रालय दिएकाे बताएकाे छ । मन्त्रिपरिषद् विस्तारलाइ लिएर कांग्रेस र माअाेवादी केन्द्रका केही सांसद भने असन्तुष्ट बनेका छन् । काँग्रेसका सांसद डोबाटे विश्वकर्मालाइ सपथ लिन तयार रहनु भनेर अन्तिममा विन्दुकुमार थापालाइ मन्त्री बनाइएकाे थियाे ।


