एमाले उपाध्यक्ष बामदेव गाैतमद्वारा पदबाट राजीनामा
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट अलग हुने भन्दै राजीनामा दिनुभएकाे छ । गाैतमले शुक्रबार पार्टी अध्यक्ष केपी ओलीलाई सम्बाेधन पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिनुभएकाे हाे ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पनि गाैतमले राजीनामा बुझाउनुभएकाे पुष्टी गर्नुभयाे ।
राजीनामा दिन पार्टी मुख्यालय थापाथलीमा गौतम स्वयं पुग्नुभएकाे थियाे । गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताउनुभयाे ।
राजीनामा पत्रमा ओलीले संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेकाले राजीनामा दिएकाे उल्लेख छ।
राजीनामा पत्रमा लेखिएकाे छ, ‘पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ। तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रूपमा सुझाव पनि दिएँ। तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छारी बन्दै जानुभयो,’उनले राजीनामा पत्रमा भनेका छन्, ‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएको गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो। त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो।’
गौतम माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा जान सक्ने बताइएकाे छ ।

