प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसदका दुवै सदनकाे बैठक आज बुधबार बस्दैछ । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक आज बस्न लागेकाे हाे ।

अपराह्न चार बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।

एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूचीमा समावेश छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश बैठकमा पेश गर्नुहुनेछ । साेही अध्यादेशका कारण जनता समाजवादी पार्टी फुटेर लाेकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी दल बनेका छन् । अध्यादेशकाे एमालेले विराेध गरेकाे छ ।

यसैगरी नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन लगायतका अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश हुने छ ।

बैठकमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिपक्षी नेकपा एमाले दल विभाजन सम्बन्धि दाेस्राे संशाेधन अध्यादेश ल्याएकाेमा सरकारसँग रूष्ट छ ।

Facebook Comments