संखुवासभामा ६ जनाकाे सामूहिक हत्या आरोपमा एक युवक पक्राउ

संखुवासभाको मादीमा गत साेमबार भएकाे सामूहिक हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

गत सोमबार मादी नगरपालिका-१ का  बुद्धमान कार्कीका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा संलग्न रहेकाे आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । भतिजा नाता पर्ने लाेकबहादुरकाे घर नजिक हत्याका बेला प्रयाेग भएकाे रड र रगत लागेकाे सर्ट भेटिएपछि प्रहरीले निजलाई पक्राउ गरेकाे जनाएकाे छ ।

वैदेशिक राेजगारीबाट फर्केका लाेकबहादुरकाे मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गर्ने प्रहरीकाे तयारी छ ।

डिएनए रिपाेर्ट र बयानपछि हत्या आरोपी युवालाई आइतबार सार्वजनिक गर्ने प्रहरीका तयारी छ । प्रारम्भिक बयानमा युवकले सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या गरेकाे बताएको स्रोतको दाबी छ ।

Facebook Comments