प्रेस सेन्टरकाे राष्ट्रिय सम्मेलनकाे प्रचण्डले उद्घाटन गर्ने
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ ।
सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानबाट ९ सय प्रतिनिधि सहभागी हुने छन् । प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने छन् ।
राष्ट्रिय सम्मेलनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् । अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ । सम्मेलनमा सहभागी शुक्रबार आउने छन् ।
सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने छ । केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य आजबाटै आउन सुरु गर्ने सेन्टरले जनाएको छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।

