कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित, ५ सहमहामन्त्रीका लागि मतगणना हुँदै

नेपाली कांग्रेसको महामन्त्रीमा युवा पुस्ताकाे प्रतिनिधित्व गर्दै गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

साथै महामन्त्री निर्वाचित भएपछि सुन्दरीजलमा पुगेर विश्वप्रकाश शर्माले कांग्रेस रुपान्तरणको यात्रा आरम्भ भएका बताउनुभएकाे छ ।

महामन्त्रीमा खसेको ४,६८२ मतमध्ये शर्माले १,९८४ पाउँदा डा. प्रकाशशरण महतले १,५५६ मतमा सीमित भए । अर्थात् देउवाको प्यानलबाट उम्मेदवार बनेका पुराना र अनुभवी नेता महतलाई ४२८ मतले पछि पार्दै शर्मा निर्वाचित भएका हुनुभयाे ।

डा. शेखरको प्यानलमा परेका गगन थापाले ३,०२३ पाउँदै महामन्त्री निर्वाचित हुनुभएकाे हाे । थापाले पनि मत नदिएका प्रतिनिधहरूकाे समेत भावनालाइ सम्बाेधन गर्ने बताउनुभएकाे छ ।

कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुँदैछ ।

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भइसकेका छन् ।

अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र क्लष्टरमा भएको निर्वाचनको मतगणना गर्न बाँकी छ ।

खसआर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे उम्मेदवार छन् ।

मधेसी क्लष्टरबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।

थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।

यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् ।

पदाधिकारीकाे मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्यका लागि भएकाे मतदानकाे गणना गर्ने तयारी छ ।

Facebook Comments